सिन्धुली, साउन २५। सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारमा सव–डिभिजन वन कार्यालय बस्तिपुरको नवनिर्मित भवन आज उद्घाटन हुँदैछ। कार्यालयले लामा गुरुहरुबाट पुजापाठ सहित जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा भद्रभालाद्मीहरुको उपस्थितिमा उद्घाटन कार्यक्रम सुरु गरिदैछ।
बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको बजेटबाट निर्माण गरिएको उक्त भवन करिब २ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। भवन निर्माणका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
मिति २०८२ साल भदौबाट निर्माण सुरु गरिएको भवन २०८३ असार २० गते नै निर्माण सम्पन्न भएको हो। असार २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि ठेकेदार कम्पनीले निर्धारित समयभन्दा पाँच दिनअघि नै निर्माण सम्पन्न गरेको सव डिभिजन वन कार्यालय बस्तिपुरका प्रमुख एवं वन अधिकृत विशाल कुमार लामाले बताउनु भएको हो।
भवन निर्माणको जिम्मेवारी जगदम्बा स्वदेशी जेभी प्रालि, नयाँ बानेश्वर, काठमाडौंले पाएको थियो।
सव–डिभिजन वन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी जग्गा उपलब्ध गराएका छन्। स्थानीय लालबहादुर बज्यु र रामबहादुर पाख्रीनले ८–८ आना जग्गा उपलब्ध गराउनुभएको हो।
नवनिर्मित भवन तीनतले रहेको छ। भवनमा नौवटा कोठा, दुईवटा भान्साघर र पाँचवटा बाथरुम रहेका छन्।
नयाँ भवन सञ्चालनमा आएपछि वन संरक्षण, वन व्यवस्थापन, वन पैदावारको नियमन तथा वातावरण संरक्षणसम्बन्धी सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
स्थानीयको जग्गादान र प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको यो भवनले घ्याङलेख क्षेत्रमा वन तथा वातावरण संरक्षणसँगै नागरिकलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।