सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका अन्तर्गत सिम्लेखोला–हायूटार–सोलाभज्याङ सडक खण्डमा निर्माण सम्पन्न भएको करिब १७ किलोमिटर कालोपत्रे सडकको मंगलबार उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा ले उक्त सडकको उद्घाटन गर्नुभएको हो।
सिम्लेखोला–हायूटार खण्डको सडक निर्माणको ठेक्का श्री जयबाबा गोरख–सारस–बालबोट जेभी ले पाएको थियो। उक्त कम्पनीले २४ करोड ८८ लाख ८३ हजार रुपैयाँ लागतमा १०.२० किलोमिटर सडकमा आस्फाल्ट कङ्क्रीट कालोपत्रे निर्माण सम्पन्न गरेको हो। ठेक्का सम्झौता वि.सं. २०८० असार १९ गते भएको र २०८२ पुष २८ गते निर्माण कार्य सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय सिन्धुली ले जनाएको छ।
त्यस्तै, हायूटार–सोलाभज्याङ खण्ड अन्तर्गत ६.३० किलोमिटर सडक कालोपत्रे गरिएको छ। उक्त खण्डको निर्माण कार्य श्री संजिव–सिन्धुली जेभी ले १० करोड ८० लाख ३८ हजार रुपैयाँ लागतमा सम्पन्न गरेको हो।
यसै अवसरमा ४० मिटर लामो ठाडो खोलामा निर्माण गरिएको पुल (लागत ५ करोड ८७ लाख ९६ हजार रुपैयाँ) र ४० मिटर लामो तामाजोर खोलामा निर्माण गरिएको पक्की पुल (लागत ५ करोड ४० लाख ८८ हजार रुपैयाँ) समेत उद्घाटन गरिएको छ।