सिन्धुली, चैत २८ — जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो करिब १२:१० बजे कमलामाई नगरपालिका–९ भिमानस्थित वि.पी. राजमार्ग सडक खण्डमा गरिएको सवारी जाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
इप्रका भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको टोली, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबास तथा हेटौंडास्थित केनाइन शाखाबाट खटिएको तालिमप्राप्त ड्रग ट्रयाकर कुकुरसहितको संयुक्त १५ जनाको टोलीले सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।
जाँचका क्रममा लहानबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ख ०६२८ नम्बरको हायसमा सवार सिराहाको वरियारपट्टी गाउँपालिका–४ निवासी २४ वर्षीय उदित नारायण राय अमातको झोलाबाट खैरो हिरोइन जस्तो देखिने ०.५३० ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इटहरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०१–००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार मोरङको बेलबारी नगरपालिका–१० निवासी ३७ वर्षीय पदमबहादुर जोगीको साथबाट १२.६०० ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध बरामद गरिएको छ।