सामाजिक सञ्जालको दुरुपयोग गर्दै तथा केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण र मतदातासँग ‘कसलाई मत दिनुहुन्छ?’ भनी प्रश्न गरी मतदाताको गोपनीयता उल्लङ्घन गरिएकोप्रति जिल्ला निर्वाचन कार्यालय काठमाडौँले गम्भीर आपत्ति जनाएको छ।
निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग हुने कुनै पनि गतिविधि नगर्न तथा नगराउन अनुरोध गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम यस्ता कार्यहरू आचारसंहिता उल्लङ्घनअन्तर्गत पर्ने उल्लेख गर्दै, त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ। साथै, उल्लङ्घन जारी रहेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने पनि स्पष्ट गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने कानुनी व्यवस्था छ। सो अवधिमा जुलुस, आमसभा वा कोणसभा आयोजना गर्न, सञ्चारमाध्यममार्फत प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न अनुमति रहेको छ।
तर, निर्धारित समयभन्दा अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभाव पार्ने कार्य भइरहेको सूचना प्राप्त भएकाले निर्वाचन कार्यालयले यस्ता गतिविधि नगर्न/नगराउन पुनः ध्यानाकर्षण गराएको हो।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।