इरानले आफ्ना सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिने शोक घोषणा

bulbulnews.com

इरानले अमेरिकी तथा इजरायली संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेको जनाएको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै BBC ले उक्त जानकारी सार्वजनिक गरेको हो। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नातिनातिना र एक बुहारी समेत मारिएका छन्।

सरकारी टेलिभिजनका एक प्रस्तोताका अनुसार देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति Donald Trump ले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत खामेनी आक्रमणमा मारिएको दाबी गर्नुभएको थियो। उहाँले यस घटनालाई इरानी, अमेरिकी तथा विश्व समुदायका लागि न्याय भएको बताउँदै इरानमाथिको बमबारी जारी रहने चेतावनी दिनुभएको छ। साथै, धेरै इरानी सैनिक युद्ध लड्न इच्छुक नभएको दाबी पनि गर्नुभएको छ।

अमेरिका र इजरायलको आक्रमणको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रतिआक्रमण गरेको जनाएको छ। समाचारअनुसार संयुक्त अरब इमिरेट्स, कतारको दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी आक्रमण गरिएको उल्लेख छ।

इरानमा भएको आक्रमणमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको इरानी रेड क्रिसेन्टले जनाएको छ। साथै बालिकाहरू अध्ययन गर्ने एक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन्।

पछिल्लो समय इरान वरपर अमेरिकी सैन्य गतिविधि बढिरहेका बेला यो आक्रमण भएको हो। इरानले आफ्नो परमाणु कार्यक्रम अन्त्य नगरे आक्रमण गर्ने चेतावनी अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै दिँदै आउनुभएको थियो। उता इजरायल सरकारले सर्वसाधारणलाई सार्वजनिक स्थलमा भेला नहुन र विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। इजरायलमा गैरसैनिक उडानहरू पूर्णरूपमा स्थगित गरिएका छन्।

आठ महिनाअघि पनि इजरायल र इरानबीच १२ दिनसम्म युद्ध चलेको थियो। त्यस क्रममा इजरायलले इरानका सैन्य तथा परमाणु संरचनामाथि बमबारी गर्दा वरिष्ठ सैन्य अधिकारी र परमाणु वैज्ञानिक मारिएका थिए। प्रत्युत्तरमा इरानले इजरायलतर्फ सयौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। पछि अमेरिकाले इरानका भूमिगत परमाणु केन्द्रहरूमा आक्रमण गरी युद्धविरामका लागि दबाब दिएको थियो। इजरायल र इरानबीच दशकौँदेखि तनाव रहँदै आएको छ।

मध्यपूर्वमा तनाव चुलिँदै जाँदा अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले पनि मध्यपूर्व हुँदै हुने उडानहरू रद्द गरेका छन्। विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।

मध्यपूर्वको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेका छन्।

प्रतिक्रिया