सिन्धुलीको घ्याङलेख गाउँपालिकामा युवाहरूको सक्रियतामा आयोजित प्रथम ‘जेन्जी कप’ खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिताअन्तर्गत फुटबलतर्फ घ्याङलेख गाउँपालिका–३ तामाजोरको तेरी एफसी विजेता बनेको छ भने भलिबलतर्फ वडा नम्बर–२ हायूटारको हायूटार युवा क्लबले उपाधि हात पारेको छ।
आज सम्पन्न फुटबलको फाइनल खेलमा तेरी एफसीले वडा नम्बर–४ को जिएफसी गोपे समूहलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत विजेता टुंगो लगाइएको थियो।
त्यस्तै, भलिबलको फाइनल खेलमा हायूटार युवा क्लबले सर्लाहीको टोलीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
फुटबलतर्फ विजेता तेरी एफसीले नगद ४० हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गर्यो भने उपविजेता जिएफसी गोपेले नगद ३० हजार रुपैयाँसहित शिल्ड र मेडलमा चित्त बुझायो।
भलिबलतर्फ विजेता हायूटार युवा क्लबले नगद ३० हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गर्यो भने उपविजेता सर्लाहीको टोलीले नगद २० हजार रुपैयाँसहित शिल्ड र मेडल हात पारेको छ।
नयाँ वर्ष २०८३ को अवसरमा प्रगतिशील युवा समाज, घ्याङलेख गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो। समाजका अध्यक्ष छिरिङदोर्जे लामाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले विजेता टोली तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।