धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ। काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा नजिकै चिया पसलमा चिया पिइरहेका एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेका छन्। ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाका अनुसार तामाङ टिपर चालक हुन्।
ठक्करपछि अनियन्त्रित भएको एउटा बस सडक छेउमा रहेको चिया पसलमा पसेको थियो। उक्त दुर्घटनामा चिया पसल सञ्चालक खगेश्वर शर्मा र रसुवातर्फ जाँदै गरेको बसका यात्रु सफलता पुलामी मगर घाइते भएका छन्। घाइतेमध्ये शर्मालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।